काठमाडौँ, २९ असार । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धक श्रीरामसिंह बस्नेतले उमेर हदका कारण अनिवार्य अवकाश लिनुभएको छ ।
रासस केन्द्रीय कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी उहाँलाई औपचारिक रुपमा बिदाइ गरियो । विसं २०४४ जेठ १८ गते अधिकृतस्तर छैटौंँ तह, नेपाली सम्पादन शाखाबाट रासस सेवामा प्रवेश गर्नुभएका बस्नेतले २८ वर्ष एक महिना सात दिनको सेवापछि यही असार २५ गते महाप्रबन्धक पदबाट अनिवार्य अवकाश लिनुभएको हो ।
सो अवसरमा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राससको सुदृढीकरण, व्यावसायिक विकास तथा मुलुकको पत्रकारिता क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्न महाप्रबन्धक बस्नेत जस्तो व्यक्तित्वको खाँचो राससलाई सधैँ पर्ने बताउनुभयो ।
“राससलाई सुदृढ एवम् सशक्त तुल्याउन यहाँ कार्यरत केन्द्रदेखि जिल्लासम्मका कर्मचारी एवम् जिल्ला समाचारदाताबीच एकता र सद्भावपूर्ण हातेमालो हुनुपर्छ, संस्थाको महाप्रबन्धक हुने अवसर संस्थामा लामो समय काम गरेका वरिष्ठ व्यक्तित्वले पाउनुपर्छ”–उहाँले भन्नुभयो ।
अनिवार्य अवकाश पाउनुभएका महाप्रबन्धक बस्नेतले राससमा धेरै अवसर र थोरै चुनौती रहे पनि समाजमा समाचारप्रतिको चासो रहेसम्म समाचार समितिका रुपमा राससको आवश्यकता रहिरहन्छ भन्नुभयो । “यहाँ प्रशस्त सम्भावना र अवसर छन्, विभागीय प्रमुखको जिम्मेवारी संवेदनशील र महत्वपूर्ण भएकाले अझ यसलाई अझ सशक्त र प्रभावकारी बनाइनुपर्छ”–उहाँले भन्नुभयो ।
उहाँले रासस विकास कोषका लागि आफ्नातर्फबाट रु २८ हजार राससका अध्यक्ष वाग्लेलाई हस्तान्तरण गर्नुभयो ।
नायब महाप्रबन्धक निर्मला आचार्यले राससका लागि अनौपचारिक रुपमा भए पनि उहाँको सहयोग र योगदानको अझै आवश्यकता रहेको औँल्याउनुभयो । “ भविष्यमा पनि बस्नेतज्यूले सक्रियताका साथ पत्रकारिता क्षेत्रको विकास र विस्तारमा योगदान गर्नुहुनेमा हामी विश्वस्त छौँ” –उहाँले भन्नुभयो ।
नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससको नेतृत्वमा रहँदा वा अन्य जिम्मेवारीमा रहँदा बस्नेतले संस्थाको हितलाई केन्द्रमा राखेर जिम्मेवारी पूरा गरेको बताउनुभयो ।
प्रधान सम्पादक राजु शाक्यले बस्नेत राससको दायित्व बुझेको र बाहिरी जगत्लाई पनि रासस र समग्र पत्रकारिताका विषयमा बुझाउन सक्ने व्यक्तित्व रुपमा आफूले पाएको उल्लेख गर्नुभयो ।
रासस प्रशासन शाखा प्रमुख सोमनाथ लामिछानेले महाप्रबन्धक बस्नेतको सक्रियतामा रचनात्मक काम हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राससलाई निरन्तर सहयोग पा्रप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
रासस सञ्चालक समितिका सदस्य एवम् प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतले अवकाशपछि पनि पूर्वमहाप्रबन्धक बस्नेतले रासस र नेपाली पत्रकारितामा सक्रिय जीवन बिताउने विश्वास व्यक्त गर्नुभयो ।
प्रशासन शाखा उपप्रमुख उत्तम सिल्वालले अवकाशप्राप्त महाप्रबन्धक बस्नेतको व्यावसायिक जीवन र राससको विकासमा उहाँले निर्वाह गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष विष्णुप्रसाद नेपाल, रासस कर्मचारी सङ्घका अध्यक्ष राजाराम कार्की र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष रामलाल श्रेष्ठले पूर्वमहाप्रबन्धक बस्नेतले नेपाली पत्रकारिता र राससमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको सेवानिवृत्त जीवन सुखमय होस् भन्ने कामना गर्नुभयो ।
सो अवसरमा राससमा क्रियाशील सङ्घसङ्गठनका तर्फबाट उहाँलाई उपहार प्रदान गरिएको थियो । रासस (तस्बिर संलग्न छ)

Comments
Post a Comment