Skip to main content

तीन चरणको लक्ष्यसहित ऊर्जा सङ्कट निवारणकाल घोषणा हुँदै

काठमाडौँ– सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्ने कार्ययोजना अगाडि बढाउने भएको छ । ऊर्जा मन्त्रालयले तयार गरेको ऊर्जा सङ्कट निवारणकाललाई तीन चरणमा बाँड्नुको पछाडि एक वर्षभित्र जनताले महसुस गर्ने विद्युत्भार कटौती अन्त्य गर्ने रहेको छ । निजी क्षेत्रले निर्माण गरिरहेका र सरकारको निकायको रुपमा रहेको नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजनाले मात्रै आगामी दुई वर्षभित्र करिब एक हजार मेगावाट विद्युत् उत्पादन हुने देखिएको छ । भारतबाट तत्कालै ८० मेगावाट विद्युत् आयात हुने र आगामी डेढ वर्षभित्र थप २०० मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ । हाल भारतबाट २३५ मेगावाट विद्युत् आइरहेको छ । आगामी तीन वर्षभित्र पूर्णरुपमा मुलुकलाई विद्युत्मा आत्मनिर्भर बनाउने लक्ष्य पनि सरकारले आफ्नो कार्ययोजनामा राखेको छ । माग र आपूर्तिको प्रक्षेपण हुने मुलुकभित्रको कुल विद्युत् माग के कति हो भन्ने विषय समेत निर्धारण गर्दै आगामी दश वर्षभित्र दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई स्पष्ट कार्ययोजनाका साथ अगाडि बढाइने भएको छ । प्राधिकरणले तय गर्ने लक्ष्य माग र आपूर्तिको सन्तुलन नमिल्ने स्थितिलाई सुधार गरेर राष्ट्रिय योजना आयोगले आगामी दश वर्षको प्रारम्भिक विद्युत् माग प्रक्षेपण गर्ने र क्रमशः बीस वर्षसम्मको लक्ष्य निर्धारण गरिने छ । आयोगले आगामी पचास वर्षसम्मको विद्युत् मागको लक्ष्यसमेत निर्धारण गर्नेछ । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे संयोजकत्वको समितिले ऊर्जा सङ्कटकालमा अपनाउनुपर्ने कानुनी तथा प्राविधिक विषय समावेश गरेर तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रस्तुत गरिसकेको छ । दश वर्षमा दश हजार मेगावाट प्रधानमन्त्रीले नीतिगत, कानुनी र व्यवहारिक विषयलाई स्पष्ट कार्ययोजनाका साथ प्रस्तुत गर्न र एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने योजनासहित दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य निर्धारण गर्न ऊर्जा मन्त्रालय र सम्वद्ध अधिकारीलाई निर्देशन दिएका छन् । सहसचिव घिमिरेकाअनुसार प्रधानमन्त्रीको चासो र मुलुकको आवश्यकताका आधारमा केही दिनभित्रै ऊर्जा सङ्कट निवारणकाल घोषणा गर्ने र युद्धस्तरमा जलविद्युत् आयोजना अगाडि बढाइनेछ । विशेषगरी नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको सट्टामा जलाशययुक्त आयोजना अगाडि बढाउने लक्ष्य राखिनेछ । बूढीगण्डकी, नलसिंहगाड, सुनकोसी, माथिल्लो अरुण, उत्तरगङ्गा जस्ता ठूला र बहुउद्देशीय जलाशययुक्त आयोजना अगाडि बढाउने लक्ष्य सरकारले राखेको छ । सहसचिव घिमिरे विद्यमान अवस्थामा आगामी एक वर्षभित्र निजी क्षेत्रबाट कति मात्रामा विद्युत् उत्पादन गर्न सकिन्छ, त्यसमा सरकार र सरकारी निकायले के कति सहजीकरण गर्न सकिन्छ भन्नेमा ध्यान दिन लागिएको बताउँछन् । स्थानीय समस्या समाधान गर्न विशेष व्यवस्था जग्गा प्राप्ति, मुआब्जा वितरण र स्थानीय रुपमा रहेका समस्या समाधान गर्न आयोजनास्थललाई निषेधित क्षेत्र घोषणा गर्ने तयारी समेत गरिएको छ । विशेषगरी प्रसारण लाइन, आयोजनास्थलमा जग्गा प्राप्ति र मुआब्जा वितरणको विषयलाई लिएर विवाद रहँदै आएको छ । सरकारले तयार पारेको ऊर्जा सङ्कट निवारणकालमा जलविद्युत् आयोजनामा अवरोध गर्नेलाई सार्वजनिक अपराधको विषयसमेत मानिने भएको छ । आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले आगामी १० वर्षभित्र सरकारले योजनाबद्ध रुपमा जलविद्युत् आयोजनाको विकास गर्नुपर्छ भन्ने मान्यतामा आधारित रहेर आयोगले काम गरिरहेको जानकारी दिँदै ठूला र महत्वपूर्ण आयोजना अगाडि बढाउने विषय नै महत्वपूर्ण रहेको बताए । माग र आपूर्तिलाई सन्तुलन कायम राख्ने गरी कार्ययोजना तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने र त्यसमा आयोगले पहल गर्ने डा खतिवडा बताउँछन् । मन्त्रालय र विभागमा सम्पर्क व्यक्ति रहने निजी लगानीकर्ताले माग राख्दैआएको एकल स्वीकृति कक्षको विषयलाई पनि सरकारले सम्बोधन गर्ने तयारी गरेको छ । जलविद्युत् आयोजनासँग सरोकार राख्ने मन्त्रालय, विभाग र निकायमा एक÷एकजना सम्पर्क व्यक्ति तय गरिनेछ । मन्त्रालयमा सम्पर्क व्यक्ति सहसचिव सरहको कर्मचारी रहनेछन् । विभागमा कार्यकारी वा उनले तोकेको व्यक्ति रहनेछन् । विभिन्न ६ वटा मन्त्रालय, २२ विभाग र ३३ वटा कानुनमा टेकेर अगाडि बढ्दा जलविद्युत् आयोजनामा ढिलाई हुने, विद्युत्को माग बढ्दै जाने तर उत्पादनमा समस्या आउने प्रवृत्तिको अन्त्य गर्ने सरकारको तयारी छ । उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी यसै साता मन्त्रिपरिषद्ले ऊर्जा सङ्कट निवारणकाल घोषणा गर्ने र कानुनी तथा नीतिगत विषयमा भने व्यवस्थापिका–संसद्मा नै पेस गर्ने तयारी गरिएको छ । नयाँ विद्युत् ऐन, विद्युत् नियमन आयोग तथा अन्य प्रशासनिक व्यवस्थापनका विषयलाई पनि ऊर्जा सङ्कट निवारणकालमा समेटिनेछ । मन्त्री रायमाझी मन्त्रिपरिषद्ले सो कार्ययोजना पारित गरेपछि मुलुकको ऊर्जा क्षेत्रमा १०५ वर्षमा हुन नसकेको विकास र प्रगति एकाध वर्षमा हुने विश्वास व्यक्त गर्छन् । उत्तर र दक्षिण दुबैतर्फ अन्तरदेशीय प्रसारण लाइन यस्तै कार्ययोजनामा भारत र चीन दुबै मुलुकबाट विद्युत् आयात तथा निर्यात गर्न मिल्ने गरी अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयलाई पनि प्राथमिकताका साथ समेटिनेछ । भारतबाट मात्रै आयात गरिने अवस्थाको अन्त्य गर्दै चीनबाट पनि विद्युत् आयात तथा निर्यात गर्न मिल्ने गरी रसुवा– केरुङ अन्तरदेशीय प्रसारण लाइन र अन्य सम्भाव्य स्थानबाट पनि विद्युत् आयात तथा निर्यात गर्न सकिने अवस्थालाई ध्यान दिइने छ । भारततर्फ ६ वटा तथा चीनतर्फ दुईवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषय पनि उक्त कार्ययोजनामा समेटिनेछ । - See more at: http://www.ratopati.com/news/31328/#sthash.sAa7LiBz.dpuf

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।