Skip to main content

मौलाउँदो मानव तस्करी

समाचार नेपाली नागरिकको व्यापार गर्ने तस्करीको सञ्जाल संसारैभरि फैलिएको छ । लैजाने देश औकात अनुसारका छन् । औकातै अनुसारका दलाल छन् । ठूलालाई ठूलैले ठग्छन् । सानालाई ठग्ने अलि सानै हुन्छन् । हुनेखाने अमेरिका/युरोप जाने नाममा ठगिइरहेका छन् । त्यसभन्दाअलि तलका जापान/कोरियाका नाममा । निम्न मध्यमवर्गीय खाडीमा फसेका छन् । गरिबहरू भारतमा बेचिएका छन् । भाद्र ५, २०७२- ‘एउटा दलालको भर परेर १६ वर्षीय लोक नेपालबाट कतारमा काम गर्न पुगे । कानुनी रूपमा श्रम गर्न उनको उमेर पुगेकै थिएन । उनलाई लैजाने दलालले नक्कली राहदानी बनाइदियो, जसमा उनको उमेर २० वर्ष बनाइयो । त्यसबापत उसले लोकसँग टन्न पैसा लियो । त्यसका लागि उनले ३६ प्रतिशत ब्याजमा ऋण काढे । काम गर्ने ठाउँ अत्यन्त गएगुज्रेको थियो । दुई महिनापछि उनको हृदयाघातबाट निधन भयो । कतारलगायत खाडी मुलुकमा विदेशी कामदारले उखपात गर्मीमा अति कम तलबका भरमा धेरै घण्टा काम गर्नुपर्छ । अति फोहोर आवासमा खाँदिएर बस्नुपर्छ । लोकको परिवारले त उनले दुई महिना काम गरेको ज्यालासम्म पाएन ।’ (ट्राफिकिङ इन पर्सन्स रिपोर्ट, २०१५, अमेरिकी विदेश मन्त्रालय) ... दुबई उड्नुअघि सपनाको सपना ब्युटिसियन बनेर राम्रो पैसा कमाउने थियो । काठमाडौंमा उनको परिवारको ठूलै व्यापार थियो । छोराछोरी हुर्किसकेका थिए । कमाइ राम्रै थियो । उनलाई भने विदेश उड्ने हुटहुटी चलेको चल्यै भयो । त्यसका लागि उनले एक वर्ष ब्युटिसियन तालिम लिइन् । एक जना नजिकको नातेदारले दुबई लगेर ब्युटिपार्लरमा काम लाइदिने वचन दियो । श्रीमान्लाई थाहै नदिई उसलाई पासपोर्ट दिइन् । भिसा आइसकेपछि श्रीमान्लाई ‘कन्भिन्स’ गरिन् । र, उडिन् । जब उनी दुबई पुगिन्, दलालले केही दिन एउटा घरमा राख्यो । ‘काम खोइ त ?’ उनले सोधिन् । एक–दुई दिनमा हुन्छ भन्दै थियो । उनी कुर्दै बसिन् । तेस्रो दिन उसले भन्यो, ‘तिमीलाई ओमनको शाखामा खटायो । त्यहाँ झन् राम्रो हुन्छ ।’ उनले पत्याइन् । त्यहाँ लगेपछि सलालाह नजिकको एउटा घरमा पुर्‍याइइन् । त्यहाँ काम रहेछ– हाउस मेड । ‘मालिक क्रूर छन् । कुनै गल्ती नभई अनेक यातना दिन्छन्’, उनले मलाई फेसबुक म्यासेज लेखेकी छन्, ‘यस्तो जिन्दगी हामीले कल्पना गर्ने नर्कमा पनि कसैको छैन होला । निस्किएर भागौं, गेटमा सधैं पाले छन् । बसौं, सहनै सक्दिनँ । म अब के गरुँ ?’ लोक र सपना उदाहरण मात्र हुन् । अमेरिकी विदेश मन्त्रालयको टीआईपी रिपोर्टलाई नै हेर्ने हो भने नेपालबाट संसारभर हुने मानव तस्करीले भयावह रूप लिँदै गएको छर्लङ्ग देखिन्छ । सञ्जाल संसारभरि नेपाली नागरिकको व्यापार गर्ने तस्करीको सञ्जाल संसारैभरि फैलिएको छ । औकातअनुसारका देश छन् । औकातै अनुसारका दलाल छन् । ठूलालाई ठूलैले ठग्छन् । सानालाई ठग्ने अलि सानै हुन्छन् । हुनेखाने अमेरिका/युरोप जाने नाममा ठगिइरहेका छन् । त्यसभन्दा अलि तलका जापान/कोरियाका नाममा । निम्न मध्यमवर्गीय खाडीमा फसेका छन् । गरिबहरू भारतमा बेचिएका छन् । स्रोतहरूका अनुसार यति बेला सबैभन्दा ठूलो तस्करी अमेरिका लैजाने नाममा भइरहेको छ । त्यसका लागि काठमाडौंबाट भारत, दुबई, कतार, हङकङ, सिंगापुर, थाइल्यान्डमध्ये कुनै एकलाई ट्रान्जिट बनाउने गरेका छन् । सिंगापुर, हङकङ वा थाइल्यान्डबाट प्राय: बोलिभिया उडाउने गर्छन् । दुबई वा कतार ट्रान्जिट त्यस्ताले रोज्छन्, जसले ब्राजिल लैजान्छन् । भारत हुँदै जानुको अर्थ अफ्रिकाको बाटो अलमल्याउँदै लैजानु भन्ने बुझे हुन्छ । अमेरिकी विदेश मन्त्रालयको टीआईपी रिपोर्टले नेपालको अवस्था यस्तो देखाएको छ, जहाँबाट संसारका प्राय: देशमा मानव तस्करी हुन्छन् । तस्करी हुनेमा महिला र बालबालिका बढी छन् । ‘जबरजस्ती श्रम र यौन कार्यका लागि ओसारपसार हुने स्रोत, ट्रान्जिट र गन्तव्य मुलुकमा नेपाल पर्छ । नेपाली महिला र बालिबालिको नेपालभित्रै, भारत, मध्यपूर्व, एसिया र अफ्रिकामा देहव्यापारका लागि तस्करी हुन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘नेपाली पुरुष, महिला र बालबालिका ती देशका साथै अमेरिकासम्म निर्माण, उद्योग, घरेलु काम, विस्फोटक पदार्थ एवं मनोरञ्जन क्षेत्रमा जबरजस्ती काममा लाउन पुर्‍याइन्छन् ।’ भारतका देहव्यापार स्थलमा हरेक वर्ष २० हजार नेपाली किशोरी पुर्‍याइने अनुमान छ । त्यहाँ दुई लाखभन्दा बढी नेपाली महिला यस्तो काम गर्न बाध्य पारिएको अध्ययनहरूले देखाएका छन् । तर, आधिकारिक तथ्यांक सरकारी/गैरसरकारी कुनै निकायसँग छैनन् । एक अध्ययनअनुसार नेपालमा प्रतिदिन ५४ महिला/बालबालिका ओसारपसार हुन्छन् । तीमध्ये अधिकांश भारतमा मुम्बई, बैंगलोर, नयाँ दिल्ली, कोलकाता, सिलिगुडीलगायत ठाउँमा पुर्‍याइन्छन् । गैरकानुनी ओसारपसार हुनेमध्ये अधिकांश दुर्गमका पिछडिएका छन् । तिनमा आदिवासी जनजाति र दलितको संख्या बढी छ । लागु औषध र अपराधसम्बन्धी राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) को मानव तस्करीबारे २०१४ को विश्वव्यापी प्रतिवेदनका अनुसार बंगलादेशमा बालबालिका ओसारपसार बढी छ । नेपालमा भने बालबालिकाभन्दा महिलाको संख्या बढी छ । नेपालका दलालमध्ये २६ प्रतिशत महिला छन् । नेपाल प्रहरीमा मुद्दा दर्ताको संख्या भने अति झिनो छ । अपराध अनुसन्धान विभागका अनुसार ०६६/६७ मा मानव तस्करीका १६१ मुद्दा परेका थिए । ०६७/६८ मा १८३, ०६८/६९ मा ११८, ०६९/७० मा १४४, ०७०/७१ मा १८५ र ०७१/७२ मा १८४ मुद्दा दायर भए । अमेरिकी सरकारको प्रतिवेदनले राज्यले मानव तस्करी उन्मूलन, नियन्त्रण र नियमन गर्न नसकेका देशमा नेपाललाई पनि राखेको छ । प्रतिवेदनले नेपाललाई ‘टिइर टु’ मा राखेको छ । ‘टिइर टु’ मा यस्ता देश पर्छन् जुन मानव तस्करी उन्मूलनको न्यूनतम स्ट्यान्डर्डमा पुगेका हुँदैनन् तर उल्लेख्य पहल गरिरहेका हुन्छन् । ‘नेपाल सरकारको पीडित पहिचान र संरक्षणको पहलकदमी अपर्याप्त छ । जब प्रहरीले कुनै छापा मार्छ र देहव्यापारको अभियोगमा समात्छ, तिनीहरूलाई तिनै व्यापारीको जिम्मा लगाउँछ । ओसारपसारविरुद्ध कानुनको कार्यान्वयन पनि अपूर्ण छ’, प्रतिवेदनमा भनिएको छ, ‘नेपाल प्रहरीको महिला सेलले सेक्स तथा श्रम शोषणसम्बन्धी १८५ घटनाको अनुसन्धान गरेको थियो । सरकारले ४५४ जनालाई थुनेको थियो । अदालतले २०३ जनालाई जेलमा हाल्यो । जेलमा रहेका ती दोषी र तिनीहरूलाई थुनिएको बारे जानकारी दिएन ।’ फकाउन सजिला नेपाली नेपालीलाई नामै नसुनेको देश जाउँm भन्यो भने पनि फकिइहाल्छन् । त्यस्तै लहैलहैमा युद्ध झेलिरहेका देशदेखि अति विपन्न मुलुकसम्ममा उनीहरू पुगेका छन् । एनआरएनए उपाध्यक्ष तथा वैदेशिक रोजगार टास्क फोर्सका संयोजक टीबी कार्कीका अनुसार युरोप लाने भन्दै टर्कीमा अलपत्र छाडिएका धेरै नेपालीको पटक–पटक उद्दार गरिएको छ । त्यहींबाट कतिपयलाई दलालले सिरिया, लिबियाजस्ता युद्धभूमि पुर्‍याउने गरेका छन् । ‘टुक्रे भिसा लाउँदै ओसार्ने क्रम बढेको पाइएको छ’, उनले भने, ‘तर, यसको सञ्जाल पत्ता लाउनै सकिएको छैन ।’ युरोपेली देश र अमेरिकामा कुनै कार्यक्रम, सेमिनार, गोष्ठी आदि नाममा नेता, कलाकार आदिले व्यक्ति लैजाने र छाड्ने क्रम बढेको प्रति पनि उनले आपत्ति जनाए । ‘यस किसिमको मानव ओसारपसारले नेपालीको शिर निहुरिएको छ’, उनले भने, ‘सरकार र सम्बन्धित दूतावासले यसमा कडाइ गर्नु जरुरी छ ।’ एनआरएनए ओमनका पूर्वअध्यक्ष डीबी क्षत्रीका अनुसार त्यहाँ रहेका नेपालीको करिब ३० प्रतिशत अवैध रूपमा पुर्‍याइएका हुन् । ती सबै सेटिङमा गएका हुन् । काम ढाँटेर लगेका हुन् । ‘यूएईमा ब्युटिसियन भनेर ल्याउँछन्,’ उनले भने, ‘ओमनमा घरेलु काममा लाउँछन् ।’ यूएईबाटै इराक, अफगानिस्तान, लिबिया, सिरियाजस्ता युद्ध प्रभावित देशमा समेत नेपाली पुर्‍याइन्छन् । ‘आफैं भिसा निकाल्न सक्ने, पढेका, सीप भएका, दक्ष व्यक्तिलाई सयथरी नियम लाएर कडाइ गर्नु आवश्यक छैन । उनीहरूले आफ्नो सुरक्षा आफैं गर्छन्’, क्षत्रीले भने, ‘अनपढ, अदक्ष र घरेलु काममा आउनेको तस्करी हुन दिनु हुँदैन ।’ शुक्रबार उनीसँग टेलिफोनमा कुरा हुँदाहुँदै ओमनकै मस्कटस्थित नेपाली दूतावासको शरणमा एक महिला पुगिन् । उनी क्लिनरको काममा भनी कतार लगिएकी थिइन् । त्यहाँ हाउस मेडको काम दिइयो । त्यो गर्न चाहिनन् । राम्रो काम दिने भन्दै उनलाई ओमन लगियो । त्यहाँ पनि हाउस मेडमै लगाइयो । जब उनले त्यो अस्वीकार गरिन्, फेरि कतार फर्काउने भनियो । त्यसपछि उनी भागेर नेपाली समुदाय हुँदै दूतावास पुगेकी रहिछन् । दूतावासले उनलाई नेपाल फर्काउने जनाएको छ । खासगरी दलालले अनेक प्रलोभनमा फकाएर बहकिनेमा पुरुषभन्दा महिला बढी छन् । नेपालले कतिपय देशमा हाउस मेड पठाउन प्रतिबन्ध लगाएको छ । त्यसपछि भारतीय बाटो हुँदै लैजाने क्रम बढेको छ । भारतकै पासपोर्ट बनाएर समेत धेरै नेपाली महिला विदेश उडेका छन् । ‘सेटिङ गर्न सक्ने काठमाडौंबाटै उड्छन्’, कार्कीले भने, ‘नसक्ने अनेक बहानामा भारत पुर्‍याइने हुन् ।’ सेटिङ यस्तो अस्त्र हो जसमा सबै सम्बन्धित निकायमा ‘मुख बुझो’ लगाइन्छ । त्यस्तो अवस्थामा न कागजपत्र हेरिन्छ, न रोक्ने–छेक्ने काम नै हुन्छ । सेटिङको सूची हरेक दिन केहीयता मानव तस्करीको सबैभन्दा चल्तीको ‘ट्रान्जिट’ यूएई बनिरहेको छ । फ्लाइ दुबई र एयर अरेबियाका काठमाडौंमा दैनिक तीन/तीन उडान छन् । ती प्रत्येकमा २० देखि ३० जनासम्म ‘सेटिङ’ मा उड्ने गरेको विमानस्थलका कर्मचारी बताउँछन् । दुबई पर्यटकीय हबका रूपमा विकास भएको छ । उसले आफ्नो देश घुम्न चाहनेलाई स्वागत गर्छ । त्यसैले त्यहाँ पर्यटक भिसामा जान गाह्रो छैन । तर, समस्या पर्छ नेपालकै विमानस्थल कट्न । जब ‘सेटिङ’ हुन्छ, त्यो पनि सल्टिन्छ । ‘सेटिङमा उड्नेको सूची अध्यागमन, प्रहरी र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई पठाइएको हुन्छ’, अध्यागमनकै एक कर्मचारीले भने, ‘हामीलाई शंका लाग्यो भने सिनियर स्टाफलाई सर के गर्ने भनेर सोध्छौं, उहाँले खुसुक्क सूची हेर्नुहुन्छ । नाम छ भने पठाइदेऊ भन्नुहुन्छ, छैन भने रोकिन्छ ।’ सूची कसले पठाउँछ र कसरी आइपुग्छ भन्नेचाहिँ आफूलाई थाहा नभएको उनले बताए । अन्य एयरलाइन्सको ह्यान्डलिङको जिम्मा लिएको नेपाल एयरलाइन्सको विमानस्थलमा खट्ने कर्मचारीमध्ये केहीसमेत त्यसमा सहभागी हुने स्रोतले बतायो । ‘कागजपत्र नपुगेको अवस्थामा हामी बोर्डिङ पास रोक्न खोज्छौं, हाम्रै सिनियरहरू सम्बन्धित एयरलाइन्सका स्टाफसँग खासखुस गर्न पुग्छन्’, त्यहाँका एक कर्मचारीले भने, ‘पछि त्यो व्यक्ति सकुशल उड्छ ।’ सम्बद्ध कर्मचारीका अनुसार यदाकदा समातिने व्यक्ति सेटिङ नमिलेका मात्र हुन्छन् । सेटिङबाट आउने पैसा तीनवटै निकायका खटिएका कर्मचारीले भागशान्ति लिने गरेको स्रोतले जनायो । अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले भने सेटिङ रोकिएको दाबी गरे । ‘निगरानी गरिरहेका छौं’, उनले भने, ‘पहिलाजस्तो अवस्था छैन । पहिला एयरपोर्ट खटाउँदा कर्मचारी रमाउँथे, अचेल नाक खुम्च्याउँछन् ।’ काशी जानु कुतीको बाटो झट्ट लाग्छ– अफ्रिकी मुलुकहरू नेपालभन्दा गरिब छन् । तर, दलालहरूले विभिन्न प्रलोभनमा त्यहाँ पनि नेपाली पुर्‍याउँछन् । मानव तस्करीको एउटा गन्तव्य मात्र होइन, ट्रान्जिटका रूपमा पनि अफ्रिकालाई तिनले उपयोग गरिरहेका छन् । उनीहरू खासगरी भारतको बाटो हुँदै लगिन्छन् । त्यहाँका कतिपय देशमा अनअराइभल भिसा हुन्छ । त्यसलाई उपयोग गर्दै वा पर्यटक भिसामा पुर्‍याइन्छन् । ‘कसैलाई यतै जागिर लगाइदिने प्रलोभनमा ल्याएका हुन्छन् । कतिपयलाई युरोप/अमेरिका लगिदिन्छु भनेका हुन्छन्’, गैरआवासीय नेपाली संगठन (एनआरएनए) का अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाले भने, ‘युरोप/अमेरिकाको सपना देखेर आउनेहरू सबैजसो अलपत्र पर्छन् ।’ दक्षिण अफ्रिका, केन्या, युगान्डा, तान्जानिया, नाइजेरियाजस्ता अफ्रिकी देश दलालका छनोटमा छन् । केन्या र तान्जानियाका डान्स बारमा काम गर्न जाने युवतीको संख्या बढ्दो छ । तिनलाई भारतको बाटो हुँदै लगिन्छ । दुवै मुलुकमा अन अराइभल भिसा भएकाले पुर्‍याउन गाह्रो छैन । तर, नाच्ने नाममा शरीर बिक्रीसमेत गर्नुपर्ने धेरैको बाध्यता हुन्छ । केन्यामा हजार र तान्जानियामा दुई हजार नेपाली युवती डान्स बारको काममा रहेको अनुमान छ । कतिपय क्यासिनोमा पनि छन् । ‘दक्ष जनशक्तिले वर्क भिसा लगाएर आएको खण्डमा मात्र काम सम्भव छ’, नाइजेरियाको प्रतिष्ठित कम्पनी डाङगोटेमा कार्यरत थापाले भने, ‘नत्र यहींका कामदार काम नपाएर थन्किएका छन् । विदेशीलाई कसले देओस् काम ?’ अनेक प्रलोभनमा पुर्‍याएर अलपत्र पारिएका नेपालीबारे थाहा पाउन निकै गाह्रो पर्छ । अमेरिका लैजाने बाटो अफ्रिका हुँदै होइन । तर, सर्वसाधारण नेपालीलाई त्यसबारे ज्ञान हुँदैन । ‘अफ्रिकाबाट अमेरिका जान खोज्नु कासी जानु कुतीको बाटो भनेजस्तै हो’, अफ्रिकामै बस्ने अर्का एक नेपालीले भने, ‘तर दलालले अलमल्याउनुपर्ने हुन्छ । काम हुँदै छ भनेर देखाउन उडाइहाल्नुपर्ने हुन्छ । व्यापारमा खडेरी नलागोस् भनेर अन्य इच्छुकलाई उडाएको देखाउन पनि पाइन्छ । त्यही भएर यता ल्याउँछन् ।’ अमेरिका/युरोप सपना देखाएका दलालहरूले इन्डोनेसिया, भियतनाम, सिंगापुर, मलेसिया, खाडी मुलुक आदिमा समेत थन्क्याउँछन् । ‘ती देशभन्दा अफ्रिका पुर्‍याउनु उनीहरूले लाभदायक देख्न थालेका छन्,’ ती नेपालीले भने, ‘अफ्रिकामा राख्न सस्तो पर्छ । टाढा पुर्‍याइसकेकाले लगिदिन्छ भन्नेमा घरपरिवारलाई विश्वास बढ्छ ।’ अलपत्र परेर बिचल्ली भएपछि भने केही नेपाली सम्पर्कमा आउने गरेको थापाले बताए । ‘त्यस्ता घटना वर्षको ३० वटाको हाराहारी हुन्छन्’, उनले भने, ‘तिनलाई कुनै सरसहयोग जुटाएर नेपाली समुदायले स्वदेश पठाउने गर्छन् ।’ बंगलादेशी बन्दै नेपाली महाभूकम्पपछि दक्षिण अमेरिकी मुलुक हुँदै अमेरिकातर्फ लैजाने क्रम बढेको कान्तिपुरमा केही दिनअघि समाचार छापिएको थियो । त्यसयता त्यहाँको मुख्य गौंडो कोलम्बियामा नेपाली भनेर चिनिन र नेपाली भाषा बोल्न दलालले रोकेको पाइएको छ । ‘हेर्दा नेपाली हुन्छन्’, कोलम्बियाको बोगोटामा व्यवसाय गरेर बसेका छत्रबहादुर मैनालीले भने, ‘हिन्दी बोल्छन् । कुन देशका हौ भनेर सोध्दा बंगाली भन्छन् । तर बंगाली बोल्न जान्दैनन् ।’ उनका अनुसार बंगाली बनेर जानेको संख्या ह्वात्तै बढेको छ । ‘महिनाको ४ सयसम्म छिर्दै छन्’, उनले भने, ‘एउटै समूहमा ६०–७० जना हुन्छन् । तिनमा नेपाली पनि मिसाइएका छन् ।’ ल्याटिन अमेरिकाका ब्राजिल, बोलिभिया, कोलम्बिया, इक्वेडर, कोस्टारिका, निकारागुवालगायत सबै देशमा नेपाली दलालको बसोबास रहेको पाइएको छ । करिब दुई वर्षअघि मानव तस्करी गरी अमेरिकातिर लगिरहेको अभियोगमा इक्वेडरको प्रहरीले नेपालका कुलप्रसाद काफ्ले र माधवराज खनालसहित ७ जनालाई पक्राउ गरेको थियो । त्यहाँका मुलुक केही कडा हुँदै गएका छन् । २००८ तिर पत्ता लागेको यो रुट यतिबेला नेपालीलाई अवैध ढंगले अमेरिका लैजाने मुख्य मार्ग बनेको छ । सुरुमा इक्वेडरले नेपालीलाई अन अराइभल भिसा दिन्थ्यो । त्यसलाई दुरुपयोग गर्दै तस्करी बढेपछि रोक्यो । हाल बोलिभिया मात्र यस्तो भिसा दिने देश छ । तर, त्यहाँ प्रयोजन खोजिन्छ । स्रोतहरूका अनुसार पहिल्यै लिनु परे पनि अलि सजिलो गरी भिसा पाउने देश हाल ब्राजिल छ । तर, त्यहाँ पनि खोजीनिती बढेको स्रोतले जनायो । पासपोर्ट हराएको सूचना हरेक दिन मिडियामा पासपोर्ट हराएको सूचना छापिएका हुन्छन् । के सबै नेपाली यति बेहोसी भइसके ? प्रमाणपत्र हराएका सूचना किन छापिँदैनन् ? नागरिकता किन हराउँदैनन् ? सबैभन्दा बढी राजस्व तिरेको पासपोर्ट नै कसरी हराउँछन् ? जवाफ प्रस्टै छ– तीमध्ये अधिकांश हराएका होइनन्, हराइएका हुन् । अर्कै नाममा उडाइएका हुन् । ‘विदेश जान चाहनेले एजेन्टलाई पासपोर्ट दिन्छन् । समयमा उनीहरू आएनन् भने एजेन्टले फोटो फेरेर त्यसमा अर्कैलाई उडाइदिन्छन् ।’ मेसिन रिडेबल पासपोर्टको पूर्ण उपयोग भएपछि भने यस्ता किर्ते गर्नेहरूलाई अप्ठ्यारो पर्नेछ ।

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।