Skip to main content

आलेख समाचार ः आमसञ्चारको क्षेत्रमा व्यावसायिकताभन्दा सङ्ख्यात्मक वृद्धि

९सुशील दर्नाल० काठमाडौँ, २९ साउन । कुनै समय ढङ्याग्रो ठटाएर, ढोल बजाएर, झ्याली पिटेर, दमाहा बजाएर, कर्नाल फुकेर वा शङ्खनाद गरेर समुदायलाई सूचना प्रवाह गर्ने गरिन्थ्यो । आधुनिक आमसञ्चार माध्यमको विकासले परम्परागत सञ्चार प्रणालीलाई करिब करिब विस्थापित गरिसकेको छ । अहिले पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार समिति र अनलाइनसँगै फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमार्फत छिनछिनमै सूचना र सन्देश प्रवाह भइरहेको छ । सामाजिक सञ्जालको व्यापकता बढे पनि सञ्चारमाध्यमको महत्व चाहिँ घटेको छैन । विश्वसनीय र विस्तृत सूचना, ज्ञान तथा मनोरञ्जनका लागि सञ्चारमाध्यम नै जनताका साथी भएका छन् । नेपालमा पछिल्लो पटक सञ्चारमाध्यमको सङ्ख्यामा वृद्धि हुँदै जानु त्यसैको द्योतक हो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले विसं १९०८ मा बेतायतबाट गिद्दे प्रेस ल्याएसँगै नेपाली प्रेसको जग बसेको हो । पछि विसं १९५८ मा गोरखापत्रको प्रकाशनसँगै अखबारको युग सुरु भयो । त्यसभन्दा अघि ‘गोर्खा भारत जीवन’ र ‘सुधासागर’ साहित्यिक मासिक प्रकाशित भएका थिए । राणाकाल र पञ्चायतकालमा फस्टाउन नसकेको पत्रकारिता क्षेत्रले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनासँगै व्यावसायिक बन्ने कोसिस गरेको हो र यो क्षेत्रले क्रमिक रुपले उद्योगको हैसियत पनि पाउँदै गयो । यसबीचमा पत्रकारिताको औपचारिक अध्ययन÷अध्यापनको क्रम पनि चल्यो । सूचना विभागबाट उपलब्ध विवरणअनुसार २०७१ चैत मसान्तसम्ममा मुलुकभर सात हजार १९ पत्रपत्रिका दर्ता भएका छन् । यसमा दैनिक ६२२, अर्ध साप्ताहिक ३२, साप्ताहिक दुई हजार ६५७, पाक्षिक ४५१, मासिक दुई हजार ११५, द्वैमासिक ३४९, त्रैमासिक ५९०, चौमासिक ३१ र अर्ध वार्षिक ८८ रहेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको भन्दा करिब एक सयले बढी हो । भाषागत हिसाबले हेर्दा नेपाली भाषामा चार हजार ७४८, अङ्ग्रेजीमा ४८४, नेपाली÷अङ्ग्रेजीमा एक हजार २४४, नेवारीमा ४४, मैथलीमा ४५, हिन्दीमा २४, संस्कृतमा पाँच, भोजपुरीमा छ, ऊर्दुमा आठ, तिब्बतीमा चार, थारुमा १३, लिम्बूमा तीन, डोटेलीमा चार, तामाङमा १०, र राईमा दुई पत्रपत्रिका प्रकाशित हुने गरेका छन् । सूचना विभागका अनुसार हिमाली प्रदेशबाट एक सय ७२, पहाडी प्रदेशबाट पाँच हजार १२९ र तराई प्रदेशबाट एक हजार ७१८ वटा पत्रपत्रिका दर्ता भएर प्रकाशित भएका छन् । ताप्लेजुङ, पाचँथर, सङ्खुवासभा, धनगढी, सोलुखुम्बु, खोटाङ, रसुवा, दोलखा, रामेछाप, मनाङ, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, मुस्ताङ, डोल्पा, जाजरकोट, सल्यान, बझाङ, बाजुरा र अछामलगायत २० जिल्लाबाट अहिलेसम्म एउटा पनि दैनिक पत्रपत्रिका प्रकाशनमा आएको छैन । ती जिल्लाबाट साप्ताहिक र मासिक पत्रपत्रिका भने प्रकाशित भएका छन् । राजधानी काठमाडौँबाट एक सय ७८ वटा दैनिक पत्रपत्रिका दर्ता भएर प्रकाशनमा आएका छन् । सूचना विभागका उपसचिव तथा प्रवक्ता विष्णुभक्त रञ्जितले पत्रिका दर्ता गरेर एक÷दुई महिना चलाउने र बन्द गर्ने प्रवृत्ति व्याप्त भएपनि एक पटक दर्ता गरिसकेपछि खारेज गर्न नमिल्ने हुँदा कति नियमित सञ्चालनमा छन् वा कति बन्द भए भन्ने यकिन गर्न कठिनाइ भएको बताउनुभयो । उहाँका अनुसार दर्ता भएका अधिकांश पत्रपत्रिका आर्थिक कारणले एक÷दुई महिनामै बन्द हुने गरेका छन् । प्रेस काउन्सिल नेपालका अनुसार पछिल्लो पटक राजधानीबाट प्रकाशित ठूला आकारका दैनिक पत्रिकाको सङ्ख्या वृद्धि भए पनि गुणस्तरमा भने खासै प्रगति भएको देखिँदैैन । नेपाल पत्रकार महाससङ्घका अध्यक्ष डा महेन्द्र विष्ट केही सञ्चारमाध्यम स्वच्छ पत्रकारिता गर्नेभन्दा पनि देखासिकी गरी ‘निहीत उद्देश्य’ प्राप्तिका लागि खोलिएको बताउनुहुन्छ । त्यस्ता सञ्चारमाध्यममा श्रम शोषण हुनुका साथै बजारमा अस्वस्थ्य प्रतिस्पर्धा बढाएको उहाँको तर्क छ । बढ्दो सञ्चारमाध्यमको सङ्ख्यालाई मुलुकको विद्यमान बजारले धान्न नसक्ने अध्यक्ष विष्टको निष्कर्ष छ । त्रिवि केन्द्रीय पत्रकारिता विभागका प्राध्यापक चिरञ्जीवी खनाल भन्नुहुन्छ – “नेपाली पत्रकारिता व्यावसायिकताभन्दा पनि जागिरे प्रवृत्तितर्फ उन्मुख भएकाले यसमा विकृति देखिन थालेको छ ।” उहाँले सञ्चार क्षेत्रकै संस्थागत विकास हुनुपर्नेमा हाल मालिक ९सञ्चालक वा लगानीकर्ता० बाट नियन्त्रित हुन थालेकाले यस्तो स्थिति आएको बताउँदै यसले व्यावसायिक र स्वतन्त्र पत्रकारितामा चुनौती थपिएको धारणा राख्नुभयो । मुलुकभर हाल अनुमति लिएका एफएम रेडियोको सङ्ख्या ६३८ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रव्य दृश्य प्रसारण शाखाका अनुसार गत असार मसान्तसम्म अनुमति लिएकामध्ये ५४७ रेडियो नियमित सञ्चालनमा छन् । त्यसैगरी, सातवटा स्याटेलाइट रेडियो दर्ता भएका छन् । सरकारी सञ्चारमाध्यमका रुपमा विसं २००७ मा रेडियो नेपाल सञ्चालनमा आएको थियो । त्यसपछि निजी क्षेत्रबाट २०५४ सालमा रेडियो सगरमाथाले सञ्चालन अनुमति पाएसँगै एफएम रेडियो सञ्चालन गर्ने लहर चलेको हो । पछिल्लो समय आवश्यकता र सम्भावना नहेरी राजनीतिक प्रभाव वा लहडमा एफएम रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने संस्कार बढेको बताउनुहुन्छ रेडियो अभियन्ता रघु मैनाली । सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष मोहन चापागार्इंले साधन र स्रोतको अभावका बीच पनि रेडियोहरूले बिहान करिब ६ बजेदेखि राति ११÷१२ बजेसम्म समाचारलाई प्राथमिकताका साथ प्रसारण गर्ने गरेको बताउनुभयो । मुलुकमा हाल ८२ वटा टेलिभिजनले सञ्चालनका लागि अनुमति लिएका छन् । मन्त्रालयका अनुसार असार मसान्तसम्ममा २५ वटा टेलिभिजन नियमित प्रसारणमा रहेका छन् । तीनवटा आइपी टेलिभिजनले दर्ता अनुमतिपत्र लिएका छन् । सरकारीस्तरबाट पहिलो पटक २०४२ पुस १४ गतेदेखि नेपाल टेलिभिजनले नियमित प्रसारण प्रारम्भ गरेको थियो । त्यसपछि निजी क्षेत्रबाट च्यानल नेपाल, इमेज च्यानल, नेपाल–१ सञ्चालनमा आएका हुन् । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की सञ्चारमाध्यमको सङ्ख्या बढे पनि गुणस्तर घट्दै गएको बताउनुहुन्छ । कान्तिपुर टेलिभिजनका पूर्व समाचार प्रमुख तथा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला मुलुकमा आवश्यकताका आधारमा भन्दा पनि देखासिकी गर्दै संस्था खोल्ने प्रवृत्ति देखिएको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ – “सञ्चारमाध्यमले जति मात्रामा गुणस्तरीय सामग्री पस्कनुपर्ने हो, त्यो छैन तर टेलिभिजनमा क्रमशः गुणस्तरीयता बढ्दै गएको देखिन्छ ।” सरकारले समयमै सञ्चारमाध्यमलाई एक आपसमा गाभ्ने र नयाँका लागि पूर्वाधार र सम्भावना हेरेर मात्र अनुमति दिनुपर्ने उहाँ बताउनुहुन्छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव कविराज खनालको विचारमा आवश्यकताभन्दा बढी सञ्चारमाध्यम थुप्रिएको सहरमा भन्दा एउटा पनि नभएका ग्रामीण क्षेत्रमा नयाँ सञ्चार संस्था सञ्चालन गर्न मन्त्रालयले प्राथमिकता दिँदै आएको बताउनुभयो । सूचना आयोगका आयुक्त किरण पोखरेलले कतिपय विद्युतीय सञ्चारमाध्यमले सच्याउनै नमिल्ने गरी पुष्टि नभएका समाचार प्रसारण गर्ने गरेको देखिएको बताउँदै ती सञ्चारमाध्यमले आधिकारिक र विश्वसनीय समाचार प्रसारणमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । राजधानी काठमाडौँबाट पछिल्लो समयमा प्रकाशनमा आएका ठूला आकारका पत्रपत्रिका थप जिम्मेवार बन्नुपर्ने उहाँको सुझाव छ । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।