Skip to main content

बूढीगण्डकीको मुआब्जा बाँड्न र पुनःस्थापना गर्न संयोजक खोजिँदै

काठमाडौँ, ७ पुस । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापना एकाइको संयोजक चयन गर्ने भएको छ । ऊर्जा मन्त्रालयले चालु आवको बजेट वक्तव्यमा समावेश गरिएको व्यवस्थाअनुसार संयोजक पदका लागि विज्ञापन आह्वान गरेको छ । कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना प्रभावितका लागि सरकारले मुआब्जा वितरणको प्रक्रिया सुरु गर्ने अन्तिम तयारी गरेको छ । बजेट वक्तव्यमा उल्लेख भएअनुसार मुआब्जा, पुनःस्थापनाका लागि छुट्टै कार्यालय स्थापना गर्नुपर्ने भन्ने व्यवस्था अनुसार नै १५ दिनको समयसीमा राखेर आज संयोजक पदका लागि दरखास्त आह्वान गरिएको हो । फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको सम्पूर्ण डिजाइन तथा लागत समेत तयार गरी सरकारलाई बुझाइसकेको छ । आयोजनालाई सरकारले कम्पनी ढाँचामा अगाडि बढाउने तयारी गरेको छ । अर्थमन्त्रालयले सैद्धान्तिक स्वीकृति दिने बित्तिकै आयोजना कम्पनी ढाँचामा अगाडि बढ्नेछ । ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले बूढीगण्डकी आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि मुआब्जा तथा पुनःस्थापना संयोजक आवश्यक पर्ने भएकाले दरखास्त आह्वान गरिएको जानकारी दिनुभयो । ऊर्जा मन्त्रालयले मान्यता प्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ, व्यवस्थापन वा समाजशास्त्र वा जनप्रशासन, वातावरण तथा कानुन विषयमा स्नातकोत्तरको शैक्षिक योग्यता हासिल गरेको, जग्गाप्राप्ति, मुआब्जा वितरण, पुनर्बास तथा पुनःस्थापनाको क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको व्यक्तिले दरखास्त दिन सक्ने व्यवस्था गरेको छ । सरकारले चालु आवको बजेट वक्तव्यमा आयोजनाका लागि रु पाँच अर्बभन्दा बढी बजेटको व्यवस्था गरेको छ भने नेपाल आयल निगमले आयात गर्ने इन्धनको भन्सार बिन्दुमा नै रु पाँच पूर्वाधार कर लगाएको छ । सो करबाट अहिलेसम्म रु तीन करोड रकम जम्मा भइसकेको छ । आयोजनाबाट प्रभावित पाँच हजारभन्दा बढी घरपरिवारलाई पुनःस्थापना गर्नुपर्नेछ । करिब ५० हजार नागरिक आयोजनाका कारण विस्थापित हुने र त्यसको व्यवस्थापनका लागि स्थायी प्रकृतिको संयन्त्र आवश्यक हुने भएकाले संयोजक आवश्यक देखिएको हो । आयोजनाबाट प्रभावित गोरखा र धादिङका २७ गाविसमध्ये छ गाविसको मुआब्जा वितरणको प्रक्रिया सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले न्यूनतम रु पाँच लाख २५ हजारदेखि रु आठ लाख २५ हजारसम्म मुआब्जा वितरण गर्ने तयारी गरेको छ । स्थानीयवासीले मुआब्जा समयसापेक्ष नभएको भन्दै आन्दोलन गर्दैआएका छन् । बूढीगण्डकी सरोकार समितिले मुआब्जा वितरण प्रक्रिया सहज नभएको र आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलन समेत गर्दै आएका छन् । समितिका अध्यक्ष हरेराम ढकालले मुआब्जा वितरण प्रक्रियामा थप सहजीकरण गरिदिन आग्रह गर्दै ऊर्जा र गृह मन्त्रालयमा निवेदन समेत दर्ता गराइसकेको जानकारी दिनुभएको छ । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।