Skip to main content

प्रमको चीन भ्रमण ः किमाथाङ्का अरुण र अन्तरदेशीय प्रसारण लाइन विशेष महत्वमा

(रमेश लम्साल) काठमाडौँ, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ७ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणको ऊर्जा तथा जलविद्युत् क्षेत्रका केही महत्वपूर्ण आयोजना अगाडि बढाउने विषयमा द्विपक्षीय कुराकानी गर्ने तयारी गरिएको छ । आसन्न चीन भ्रमणका क्रममा नेपालको तर्फबाट ४०० मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनालाई अगाडि बढाउन अनुरोध गर्ने तयारी गरिएको छ । उक्त आयोजना नेपाल–चीन सीमा नजिक रहेको आयोजना हो । लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरेको सो आयोजनालाई अगाडि बढाउन नेपालको तर्फबाट प्रस्ताव गर्न लागिएको ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले बताउनुभयो । यस्तै नेपालले नेपाल र चीनबीच केही स्थानबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागिसमेत आग्रह गरिने भएको छ । प्रस्तावित रसुवा–केरुङ अन्तरदेशीय प्रसारण लाइनलाई विशेष प्राथमिकतामा राखिएको छ । यस्तै भूकम्पपछि बन्दप्रायः रहेको तातोपानी नाकाबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा द्विपक्षीय रुपमा अध्ययन गर्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा प्रस्ताव तय गरिएको छ । यसैगरी काठमाडौँ उपत्यकाको वितरण प्रणालीलाई सुधार गर्न मोनोपोल स्थापनालगायतका विषयमा समेत प्रस्ताव गर्न लागिएको छ । विद्यमान वितरण प्रणालीले उपत्यकाको आवश्यकता र मागलाई धान्न कठिनाइ भएको भन्दै ऊर्जा मन्त्रालयले १३२ केभी क्षमताको मोनोपोलको अवधारणा अगाडि सारेको हो । चक्रपथको चार स्थानलाई केन्द्र बनाएर नयाँ वितरण प्रणाली स्थापना गर्ने लक्ष्य ऊर्जा मन्त्रालयले तय गरेको छ । हाल कायम रहेको वितरण प्रणालीलाई विस्थापन गरेर नयाँ प्रणाली स्थापना गर्न त्यसखालको प्रयास गरिएको सहायक प्रवक्ता पन्थको भनाइ छ । त्यसैगरी प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा लामो समयदेखि चर्चामा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको पनि संयुक्त लगानी सम्झौताको विषयमा द्विपक्षीय छलफल गरिने बताइएको छ । चीनको थ्री गर्जेजको सहायक कम्पनी ‘सिडब्ल्यू इन्भेस्टमेन्ट कर्पोरेसन’ले सो आयोजना अगाडि बढाउने सम्झौता गरेको भए पनि संयुक्त लगानी सम्झौताको विषयमा टुङ्गो लाग्न नसक्दा काम अगाडि बढ्न सकेको थिएन । आयोजना प्रभावित डोटी, बैतडी र डडेल्धुराका जनप्रतिनिधिले सो आयोजनाको सम्बन्धमा ठोस निर्णय गर्न सरकारसँग आग्रह गर्दै आएका छन् । विसं २०६८ फागुनमा ऊर्जा मन्त्रालयले थ्री गर्जेजको सहायक कम्पनीसँग पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा सम्झौता गरेको थियो । सम्झौताअनुसार कुल लगानीमध्ये ७५ प्रतिशत चिनियाँ कम्पनी र २५ प्रतिशत नेपाल विद्युत् प्राधिकरणले गर्ने भन्ने रहेको छ । लगानी बोर्डले सो आयोजनाका सम्बन्धमा आवश्यक निर्णय गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्राचार भइसकेको जनाएको छ । चिनियाँ पक्षले प्रसारण लाइन, पुनर्वास, विद्युत्को बजारलगायतका विषयमा प्रष्ट निर्णय गरिदिन आग्रह गर्दै आएको छ । सुदूरपश्चिमको विकासका लागि महत्वपूर्ण मानिएको सो आयोजनाको सम्बन्धमा ठोस निर्णय हुनुपर्ने प्रभावित डोटीका सांसद वीरबहादुर बलायरको धारणा छ । उहाँले लामो समयदेखि आश गरेर बसेका स्थानीयवासीलाई विश्वासमा लिएर तत्काल आयोजना अगाडि बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । ‘‘आयोजनाका कारण स्थानीय रुपमा विकास निर्माणका काम अगाडि बढ्न सकेको छैन । जनता अन्धकारमा बस्न बाध्य छन् । विकास निर्माण रोकिएको छ । आयोजना बनाउने हो भने बनाउने भन्नुप¥यो, होइन भने चर्चा गर्न पनि बन्द गर्नुप¥यो’’ – सांसद बलायरले भन्नुभयो । सन् १९९६ देखि वातावरणीय प्रभाव मूल्याङ्कनबाट सुरु भएको सो आयोजना हालसम्म पनि अगाडि नबढेकामा सांसदहरुले चिन्ता व्यक्त गर्दै यस पटक भने अगाडि बढाउने वा नबढाउने भन्नेमा टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभएको छ । कुल लागतको २५ प्रतिशत सेयर प्राधिकरणको रहने सम्झौतामा उल्लेख भए पनि चिनियाँ कम्पनी र प्राधिकरणबीच संयुक्त लगानी सम्झौता हुन नसकेका कारण आयोजना अगाडि बढ्न सकेको छैन । सम्झौता हुन नसक्दा पश्चिम सेती अघि बढाउन संयुक्त कम्पनीसमेत स्थापना हुन सकेको छैन । लगानी बोर्डले संयुक्त सम्झौताबारे चीन भ्रमणका क्रममा प्रस्ताव अघि बढाउन प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिएको जनाएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरणले भन्दा पनि कुल लगानीको २५ प्रतिशत सिधै सरकारले लगानी गर्ने गरी पश्चिम सेतीबारे चिनियाँ कम्पनीसँग भएको सम्झौता संशोधन गर्नुपर्ने धारणा राख्दै आएको छ । तर यसबारे हालसम्म टुङ्गो लागेको छैन । रासस

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।