Skip to main content

विद्युत प्राधिकरणको अर्बौंको घाटा अब करोडमा

- रमेश लम्साल/रासस , काठमाडौं भाद्र १, २०७४- विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा करिब रु सात अर्ब घाटा कम गरेर रु ९७ करोड ८९ लाखमा सीमित गरेको छ । व्यवस्थापकीय सुधार, चुहावट नियन्त्रण तथा प्राविधिक सुधारका कारण घाटा रकम उल्लेख्यरुपमा घट्न सफल भएको हो । प्राधिकरणको ३२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार आव २०७३/७४ मा कूल आय वृद्धि रु ५० अर्ब २२ करोड ९४ लाख हुन पुगेको छ । गत आवमा विद्युत् बिक्रीबाट रु ३५ अर्ब सात करोड ३५ लाख मात्रै आर्जन गर्न सकेको थियो । आव २०७२/७३ मा सञ्चालन नोक्सानी रु तीन अर्ब छ करोड ३९ लाख रहेकामा आव २०७३/७४ मा रु दुई अर्ब ४० करोड ७३ लाखमा सीमित हुन पुगेको छ ।
विद्युत् चुहावट न्यूनीकरण, आयातित विद्युत्को औसत खरिद दरमा कमी, विद्युत् महसुल समायोजन, प्रमुख सहरमा नियमित विद्युत् आपूर्ति, आंशिकरुपमा भएको वित्तीय सुधार एवं पुनः संरचनाले खुद नोक्सानी घटाउन सकिएको प्राधिकरणले जनाएको छ । भुक्तानी रकम बढ्यो प्राधिकरणले निजी क्षेत्र र भारतबाट विद्युत् खरिदबाट रु २८ अर्ब ४५ करोड ७३ लाख भुक्तानी गरेको छ । उपलब्ध विद्युत्को कूल परिणाममध्ये खरिद ऊर्जाको परिणाम ६३.१६ प्रतिशत भई विद्युत् बिक्रीबाट प्राप्त रकमको ६१.६७ प्रतिशत भुक्तानी गरिएको छ । वार्षिक मूल्यवृद्धिका कारण विद्युत् खरिद लागत २७.४३ प्रतिशतले वृद्धि भएको छ । सञ्चालन खर्च उत्पादनतर्फ रु एक अर्ब ८२ करोड ३९ लाख, प्रसारणमा रु एक अर्ब ९० करोड ७१ लाख, प्रशासनतर्फ रु एक अर्ब ३० करोड ६७ लाख रहेको छ । विद्युत् चुहावट घट्यो प्राधिकरणले मुलुकभर सञ्चालन गरेको चुहावट नियन्त्रण अभियान सार्थकरुपमा अगाडि बढ्दा करिब तीन प्रतिशत विद्युत् चुहावट कम भएको छ । गत आवमा २५.७८ प्रतिशत चुहावट रहेकामा आव २०७३/७४ मा चुहावट २२.९० मा सीमित गर्न सफल भएको छ । एक प्रतिशतमात्रै चुहावट घटाउँदासमेत रु एक अर्ब बराबरको नाफा आर्जन गर्न सकिने विज्ञको भनाइ छ । ठूला क्षमताका प्रसारण लाइन बन्दैछन् वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको जानकारीअनुसार प्राधिकरणले उत्तर दक्षिण नदी बेसिनका आधारमा ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण अगाडि बढाइने भएको छ । यस्तै पूर्व–पश्चिम ४०० केभी क्षमताका प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकतामा राखिएको छ । विश्व बैंक, एशियाली विकास बैंक, युरोपेली बैंक, मिलिनियम च्यालेन्ज कर्पोरेशन अमेरिकाको सहयोगमा पूर्वदेखि पश्चिमसम्म उच्च क्षमताका प्रसारण लाइन निर्माणको योजना अगाडि सारिएको छ । त्यस्तै न्यू बुटवल–गोरखपुर र गल्छी–केरुङ अन्तरदेशीय ४०० केभी क्षमताको प्रसारण लाइन आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना अगाडि सारिएको छ । यी अन्तरदेशीय प्रसारण लाइन विद्युत् आयात निर्यात, इनर्जी बैंकिङ तथा पावर ह्विलिङसमेतका लागि महत्वपूर्ण औजारका रुपमा रहेको घिसिङको भनाइ छ । समस्यामा रहेका आयोजना सम्पन्न गरिने प्राधिकरणले आफू र आफ्ना सहायक कम्पनीमार्फत अगाडि बढाएका आयोजना तोकिएको समयमा नै सम्पन्न गर्न हदैसम्मको प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३० मेगावाट, माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट आयोजनालाई तोकिएको समयमा निर्माण सम्पन्न गराउन हदैसम्मको प्रयास गर्ने र नयाँ आयोजना निर्माणमा ध्यान दिने प्राधिकरणले जनाएको छ । यस्तै चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेका २२५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने र आगामी असारसम्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नेतर्फ पहल गरिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।