Skip to main content
अफेयरगन्ज १९ भाद्र, २०७२ लेनिन बञ्जाडे अफेयरगन्ज बिहान नउठ्दै प्रमिलाले फोन गरी । भनेको थिएँ– घरमा हुँदा कहिल्यै मोबाइलमा घण्टी नबजाउनू । मोबाइल मेरै सिरानीमुनि थियो, भाइब्रेसनमा । घण्टी बजेको सुनेर बूढीले उठाएको भए सिधै उचालेर पछार्थी । मोबाइलमा भाइब्रेसन र साइलेन्ट मोड यस्तै आपत्–विपतका आविष्कार थिए होलान्। साइलेन्ट मोड नहुँदो हो त कतिको उठिबास लागिसक्थ्यो होला! जुरुक्क उठेर बाहिर निस्किदै थिएँ, बूढीले सोधी, “कहाँ जान लाग्नुभो ?” भनें, “चियाको साह्रै तलतल भो, दूध ल्याउन जान्ला।” ऊ मुसुक्क हाँसेर भान्सातिर छिरी, म हतारहतार गेटबाहिर निस्किएर कलब्याक गरें। “घरमा हुँदा फोन नगर भनेको होइन ? कस्तो नबुझेको ?” उसले हेलो पनि भनिनसक्दै मैले हकारें, “बूढीले थाहा पाई भने मलाई पुर्छे !” मेरो कुरा सुनेर उसलाई जङ चलेछ । सधैं सुरिली लाग्ने प्रमिला एकाएक बम्किई। “बूढीको त्यस्तै डर हुने भए के खान लभ गर्दै हिँड्नपर्‍यो ? म पछि लाग्दै आकी हुँ र ?” उसले यसरी मलाई अहिलेसम्म हकारेकी थिइन । यसरी पात्तेर बोलेकी पनि थिइन । मलाई पनि झोक चल्यो । “धेरै निपुर निपुर नगर, को पछि लाग्यो र तिम्रो ? आफैं हाई भन्दै मेसेज गरेकी हैनौ ? दोष मलाई ? हाउ ह्यान्डसम भन्दै कमेन्ट गर्दै म हिँड्या थें ?” सासै नफेरी दुई शब्द व्यक्त गरें । मोबाइल टुँटुँटुँ गर्‍यो । काटिछ । मोबाइलको टुप्पामा ६ बजेर १० मिनेट गएको जनाउ थियो । थ्रीजी अन गरें र एउटा ट्विट ठोकें, “फोनै काट्न मरी, तोइट :P !” पसल गएर दूध किनें । एउटा चुरोट सल्काएर टुच्च पेटीमा बसें । मोबाइलमा टुंग नोटिफिकेसन आयो । यसो हेरें, ‘साधना फेबरेटेड योर ट्विट’ भनेको रै’छ । साधना ? लौ सत्यानाश ! बूढीले पो फेब ठोकिछ । अनुहारमा एकाएक कुइरीमण्डल नाच्यो । दिमागले केही मेसो पाएन । हतारहतार डिलिट गरें । बूढीले सोधे के जवाफ दिने होला भन्ने चिन्ताले होश उडायो । प्रमिलाको नाम ‘प्रमोद’ भनेर सेभ गरेको थिएँ, तर पनि डिलिट गर्दिएँ । अनि प्रभातलाई डायल गरेर एकछिन कुरा गरें । प्रभात आफ्नै कारणले भयंकर तनावमा थियो । साधनाले नै हिजो एकपटक ऊसँग कुरा गर्न भनेकी थिई । उसले कदाचित मोबाइल हेरी भने पहिलो कल प्रभातकै हुन्थ्यो, बचिन्थ्यो । लुसुक्क कोठा गएँ । साधना भान्सामा गीत सुन्दै पकाउँदै थिई । बिस्तारै ढोका खोलेर दूध दिएँ र सुरुसुरु बेडरुम आएँ । साधनाको अनुहार हेर्नै सकेको थिइनँ । कोही केही बोलेन । न म, न ऊ । साधना भान्सामै गीत गुन्गुनाउन थाली । सुरुमा नारायणगोपालको ‘एउटा मान्छेको मायाले कति...’ गीतझैं लागेको थियो, होइन रहेछ । लय उही, लिरिक्स फरक रहेछ । उसले गाउँदै थिई, “एउटा मान्छेको ट्विटले कति फरक पार्दछ, जिन्दगीमा ...।” एकछिन त ग्लानीले सिलिङमा झुन्डिऊँ झुन्डिऊँ भो । जुरुक्क उठेर भान्सामा गएँ । “हा हा हा, फेब ठोकिछ यल्ले फेरि,” केही नभएझैं सामान्य पारामा बोलें, “त्यही हिजोको कुरा गर्न प्रभातलाई फोन गरेको, काटिदियो साला । ट्विट लेख्दा झुक्किएछु, फाल्दिएँ ।” म ङिच्च हाँसें । उसको आँखामा विस्मयाधिबोधक चिन्ह झुन्डियो । र, पनि उसले मेरो मोबाइल थुतेर हेरिन । मैले ऊबाट त्यस्तो कुरा लुकाएको थिएँ, जुन कुरा उसले थाहा पाई भने ज्युँदै मर्थी । म उसलाई कहिल्यै मार्न चाहन्नथें :) ० ० ० एकाबिहानैको फोन काण्डपछि लगभग १२ बजेसम्म प्रमिलालाई फोन, टेक्स्ट, अफलाइन मेसेज केही पठाइनँ । ऊ मलाई ज्यानभन्दा बढी माया गर्थी, म नि उसलाई धेरथोर माया गर्थें । हामीबीच घोषित सम्झौता थियो, “मैले हिन्ट नदिँदासम्म उसले फोन, मेसेज केही नगर्ने !” आज उसले सम्झौता उल्लंघन गरेकी थिई । सम्झौता तोड्नु भनेको सम्बन्ध तोड्नुजत्तिकै ठूलो गल्ती थियो । सोच्दै थिएँ, स्मिताको टेक्स्ट आयो, “मैले फेसबुकमा फोटो राखेकी छु नि, हेर न :)” यसको सोझो आग्रह थियो, “लाइक गर न ।” मैले फेसबुक खोलेर उसको प्रोफाइल पिक्चरमा लाइक ठोकें । एकधर्सो कमेन्ट पनि लेखें, “वाउऽऽऽ अमेइजिङ सट !” उत्तिखेरै मेसेन्जरमा पानको पात ठेलेर पठाई । “हेर न, १० मिनेट भयो राखेको, ५० लाइक्स पुगिसकेछन् ...।” “वाऊ... कङ्ग्य्राट्स :)” मैले स्माइलीसहित बधाई दिएँ, “कस्ती राम्री देखिएकी मोरी । टोक्दिऊँ ? :P।” उसले ‘हेहेहे’ लेखेर पठाई । यसको स्पष्ट उत्तर थियो, “आइज मोरा, टोकेर जा ।” मैले दिउँसो बालुवाटारमा कफी खान बोलाएँ । उसले हत्त न पत्त अर्को पानको पात पठाई । स्मिताले शब्दभन्दा बढी स्माइली र इमोजी पठाउँछे । कहिलेकाहीँ लाग्छ– ऊ यस्तै मेसेन्जरभित्र हराएकी एउटा यन्त्र हो, जसमा बनिबनाउ संवेदना त छ, जीवन छैन । ऊ मसँग यस्तै च्याटमा भेटिएकी हो । च्याटमा मैले नै बोलाएको हुँ उसलाई । ‘पिपल यु मे नो’ मा चिटिक्क परेकी सुन्दरी देखेर रिक्वेस्ट मैले नै पठाएको हुँ । एसेप्ट भएपछि उत्तिखेरै मेसेन्जरमा ‘थ्यांक्स फर एसेप्टिङ :))’ भनेर पठाएको पनि मैले नै हुँ । उत्तरमा ‘यु लुक सो क्युट’ भनेर उसले पठाएकी हो । त्यसपछि चल्यो, चलिरह्यो । त्यसयता ऊ र म ४ पटक नगरकोटका डाँडामा हुइँकियौं । कतिपटक उसले मलाई स्कुटीमा बसाली, कतिपटक मैले मागेको बाइकमा उसलाई टाँसें । तर, जतिपटक ऊ मसँग नगरकोट गई, त्यतिपटक उसले भद्रकाली गएर सिउँदो भर भनेर कर गरी । म सधैं भन्थें, “इस्मु, हामी सधैं बिहे नगरी बस्न सक्दैनौं ? माया त विवाहभन्दा नि पवित्र बन्धन हो !” ऊ अर्कैतिर फर्केर ठुस्स पर्थी । म आफ्नो बुताले भ्याएसम्म उसलाई फकाउँथें । मैले फकाऊँ भनेर ऊ धेरैपटक त्यसै रिसाएझैं गर्थी । भन्थी, “तिम्ले फकाएको कस्तो मन पर्छ मलाई ।” म पनि थपिदिन्थें, “तिमी रिसाएको नि खुब मन पर्छ मलाई ।” ङिच्च हाँसेर फेरि भन्थी, “अनि बिहे नगरी पेट बढ्यो भने नि ?” म एकछिन लजाएझैं गर्थें र भन्थें, “पिरतीको छाता ओढौंला नि !” ऊ लाजले भुतुक्क हुन्थी । ० ० ० टुंग टुंग ! मोबाइल हेरें– प्रमिलाले मेसेज पठाएकी रहिछ, “सरी जानु, नरिसाऊ न ल :(” मैले केही रिप्लाई गरिनँ । आधा घण्टापछि फेरि टुंग बज्यो । “जानु प्लिज, रिप्लाई गर न । अबदेखि कहिल्यै फोन गर्दिनँ, सरी :( ।” मलाई बिहानको कुरा सम्झेर त्यसै झोंक चलिरहेको थियो । बिनास्माइली लेखें, “इट्स ओके ।” त्यत्तिले उसको चित्त बुझेनछ, फेरि मेसेज गरी, “कल गरुँ ?” मैले रिप्लाई नगरी कल गरें । पहिलो रिंगमै उठाई । “सरी जानु, नरिसाऊ न । ड्याडीलाई फेरि अट्याक भयो, गंगालालको आईसीयूमा राखेका छन् ।” त्यसपछि उसको बोली रोकियो । मलाई चसक्क भयो । प्रमिलाका बुवालाई यो तेस्रो अट्याक थियो । उनी महाराजगन्जका नामी व्यापारी हुन् । प्रमिला एकमात्र छोरी भएर हुन सक्छ, उनलाई बेलाबेला मुटुमा बज्र परिरहन्थ्यो । प्रमिला भन्थी, “ड्याडीले छोरा पाउन कति ट्राई गर्नुभो तर भएन, त्यसपछि मलाई छोराजस्तै बनाएर हुर्काउनुभो ।” त्यही ‘छोराजस्तै’ हक्की भएर होला– प्रमिला मसँग नजिकिई । त्यो एकदिन– सुन्धाराबाट बाँसबारी जाने माइक्रो चढें । माइक्रो भन्नुमात्र थियो, काठमान्डूमा मःमः बन्ने राँगा कोचेझैं थियो । म माइक्रोको दोस्रो पंक्तिमा बसेको थिएँ, छेउमा अधवैंशे महिला थिइन् । जमल पुगेपछि माइक्रो अडियो, अटेसमटेस गर्दै एउटी केटी छिरी । माइक्रोको छतबाहेक कतै खाली ठाउँ थिएन र पनि ऊ कसैगरी झुन्डिएका केटा छिचोल्दै मेरो सिटछेउ आई । माइक्रोभित्र खुट्टा टेक्न पाउँदा कहिलेकाहीँ अचम्मको सुखानुभूति हुन्छ । यस्तोमा फोक्सोलाई पुग्ने गरी सास फेर्न पाउनु ठूलो उपलब्धि हुन्छ । झन् सिटमा बस्न पाउनुजत्तिको भाग्यमानी यो ग्रहमा अरु कोही हुन्नन् । म एकसुरले मोबाइल चलाउँदै थिएँ, वायाँ काँधमा कसैले कोट्यायो । “हेलो, तपाईं उठ्नुस् त,” त्यो केटीले हकारेझैं भनी । “किन उठ्नू म ?” मैले सहज उत्तर दिएँ । “त्याँ लेखेको देख्नुभएन ?” उसले चोर औंलाले माइक्रोको भित्तामा लेखेको देखाई । पुलुक्क भित्तातिर हेरें र चुपचाप सिटबाट उठें । म ‘महिला सिट’मा बसेको रहेछु, हुलमुलमा यादै भएन । लाजले पानीपानी भएर छेउ लागें । वरपरका मान्छे मुसुमुसु हाँसे । भित्रभित्रै लाज रसायो र म निथ्रुक्क भिजें । म उठेपछि ऊ टुसुक्क बसी र ब्यागबाट मोबाइल झिकी । म उसकै सिटको सपोर्टमा अडेस लागेर उभिएँ । एकछिन टेम्पल रन खेली र मोबाइल बन्द गरी । अलि बेरमा फेरि मोबाइल अन गरेर फेसबुक खोली । मेरा आँखा उसका मोबाइलमा अडिएका थिए, टक्क । ऊ घरिघरि नोटिफिकेसन हेर्दै मुसुक्क हाँस्थी र भएभरका कमेन्टलाई एकएक लाइक गर्थी । मेरा आँखा कतिखेरै पनि उसको मोबाइलबाट टाढिएनन् । उसले फोटो राखेकी रहिछ, कमेन्ट गनिनसक्नु थिए । उसले हरेक मान्छेलाई मेन्सन गर्दै रिप्लाई गर्दै थिई । कमेन्ट पोस्ट गर्दा मैले उसको नाम ठम्याएँ– प्रमिला डंगोल ! घर गएर हत्त न पत्त सर्च गरें र उसलाई एड गरें । त्यसपछि पहिलो ‘हाई’ उसैले पठाई । आज बिहान फोन गर्ने त्यही प्रमिला थिई । त्यति धनी बाउकी छोरी भएर पनि ऊ माइक्रोमा त्यसरी कोचिएर किन हिँड्थी, मैले कहिल्यै सोधिनँ । ० ० ० स्मिता टुप्लुक्क अमेजन क्याफे छिरी । अस्ति मैले नै ११ सयमा किन्दिएको स्कर्ट लगाएर आइछ । उसको शरीर देखेर मेरो नाभीनेर सधैं गाँठो पर्छ । मलाई स्मिताभन्दा उसको जिउडालले तान्छ । मलाई कफी सिनित्तै पारेर गंगालाल जान हतारो थियो । मान्छे आउजाउ गरिरहने भएकाले मलाई अरुले चिन्छन् कि भन्ने डर सधैं भइरहन्छ । त्यसैले, उसलाई भित्रको क्याबिनमा लगें । “कस्ती राम्री देखिएकी मोरी,” गालामा चिमोट्दै लाडे पल्टिएँ, “क्वाप्पै निलूँजस्ती ।” ऊ पनि लाडिई । मैले उसको गाला चिमोट्दा सधैं राती हुन्छे, आज पनि भई । “निलन्त अनि,” उसले आफ्ना खुट्टा मेरा खुट्टामा खापी । उसलाई वर तानें र कानको लोतीनेर सासैसासले भनें, “भोलि ककनीतिर जाम् न, त्यहीँ निल्छु ।” उसले आँखा चिम्म गरी । मेरा ओंठ उसका कानमै थिए । मैले हरेक पटक उसको कानमा सास फुक्दा उसको धड्कन बढ्छ । उसको धड्कन बढ्दा मेरो शरीरमा काँडा उम्रिन्छन् । जिब्रोले बिस्तारै कान चलाइदिएँ, उसले मलाई चपक्क टाँसी । गोजीमा मोबाइल घ्यारघ्यार गर्‍यो । भाइब्रेसनमा थियो र आवाज सुनिएन । स्मिता र म असिनपसिन थियौं । वैशाखको गर्मीलाई पर भित्तामा घुमिरहेको पंखाले कसैगरी चिस्याउन सकेको थिएन । झिकेर बिस्तारै हेरें– साधनाले गरेकी रहिछ । कामै नपरी उसले फोन गर्दिनथी । फोन काटेर मेसेज पठाएँ, “मिटिङमा छु, अहिले कलब्याक गर्छु ।” एकछिनमा उसले रिप्लाई गरी, “प्रभातले सुसाइड गरेछ :'(” मेसेज देख्नेबित्तिकै मुटु ठप्प अडिएझैं भयो । कन्चटका नशामा मेट्रो रेल कुदेझैं भयो । शरीर एकाएक यसरी चिसियो कि मानौं म बरफैबरफमा नांगै चिप्लेटी खेल्दैछु । हतारहतार कलब्याक गरें र आत्तिएर सोधें, “के भएर ? कहाँ ?” साधना पनि उस्तै आत्तिएकी थिई । निकै बेर अडिएर उसले भनी, “कारण थाहा छैन, तर त्यही हो कि जस्तो शंका छ । म त्यतै जाँदैछु ।” उसको ‘त्यही हो कि’ भन्ने वाक्यले मलाई एकाएक धरहराको टुप्पोबाट भुईंमा खसायो । निधारका हरेक छिद्र रसाएर बगे । स्मिता बेखबर थिई । उसका हात मेरा अंगअंगमा सल्बलाइरहेका थिए । “घरमै हो ?” काँपेको स्वरमा सोधें । साधनाले ‘अँ’ भनेर फोन राखी । हिजो भर्खर प्रभातकी बूढी अञ्जना साधनासामु २ घण्टा रोएकी थिई । प्रभात र उसकै अफिसकी एउटा केटीको अफेयर एक कान, दुई कान हुँदै अञ्जनाका कानसम्म आइपुगेको थियो । प्रभात र अञ्जनाको सम्बन्ध हाम्रोमात्रै होइन, वरपरका हरेक टोलमा उदाहरणीय थियो । दुईबीचको मिलाप आरिसलाग्दो थियो । दुवैले दुवैसामु केही लुकाउँदैनथे । हरेक कुरा साझा हुन्थे । तर, प्रभातले अञ्जनासँग एउटा कुरा लुकाएको थियो– जुन मलाईमात्रै थाहा थियो । मलाईमात्रै थाहा भएको ‘त्यही’ कुरा हिजो टोल–टोल हुँदै अञ्जनाका कानसम्म आइपुगेको थियो । त्यो खबर साधनाले पनि सुनी र मलाई भनी, “एकपटक प्रभात बाबुसँग राम्ररी कुरा गर्नुस् न, नाकै काटे यो उमेरमा !” साधनले त्यसो भनिरहँदा मप्रति उसको बेजोड भरोसा झल्किन्थ्यो । उसलाई लाग्दो हो– मजत्तिको माया गर्ने र सोझो लोग्ने यो संसारमै कोही छैन । छैन पनि । म साधनालाई असीमित माया गर्छु । मायाको पनि सीमा भइदिएको भए मैले उहिल्यै त्यो लक्ष्मणरेखा नाघिसकेको हुन्थें । तर, मैले प्रभातलाई सम्झाउन सक्दिनथें, किनकि म पनि ‘त्यही’ बाटोमा थिएँ कतै । सही बाटोमा हिँडेको मान्छेले मात्रै अरुलाई सही बाटो देखाउन सक्छ । अनिश्चित बाटोमा लर्खराउँदै हिँड्नेले अरुलाई कसैगरी सही दिशा देखाउन सक्दैन । म पनि प्रभातलाई ‘सही’ बाटो देखाउन सक्दिनथें । मलाई अवाक् देखेर स्मिता आत्तिई । मेरा हात थररर काँपिरहेका थिए, उसले च्याप्प समाती । “के भो जानु ? कसको फोन थियो ?” न्याप्किनले मेरो निधारको पसिना पुछ्दै लत्रिएको स्वरमा सोधी, “बोल न के !” म केही बोलिनँ । वेटरले कफी ल्याएर राखिदिएछ, त्यो पनि देखिनँ । जुरुक्क उठेर बाथरुम गएँ । मुखमा पानी छ्यापें । ऐनामा अनुहार पनि हेर्न सकिनँ । लाग्यो– ऐना हेरें भने यसले मेरो आफ्नै अनुहार देखाइदिन्छ । म सोझो आँखाले आफूलाई हेर्न सक्दिनथें । बाहिर आएर स्मितालाई भनें, “जानु, तिमी कफी खाँदै गर ल, समथिङ ब्याड ह्याप्पन्ड, म निस्कें ।” स्मिताले आँखा फट्टाएर हेरीरही । के भो भनेर पटक–पटक सोधी, म नसुनेझैं गरी निस्किएँ । पछाडि फर्केर हेरिनँ पनि । बस कुरिनँ, ट्याक्सी चढें । बालुवाटारबाट राष्ट्र बैंक हुँदै नक्साल निस्कियो । प्रमिलालाई फोन गर्छु भनेर मोबाइल झिक्दा पो झस्किएँ– गोजीमा मोबाइलै थिएन । ट्याक्सीभित्र आँखाले देख्न सक्नेसम्म सबैतिर खोजें– भेटिनँ । झ्वाट्ट सम्झिएँ– मोबाइल क्याफेको टेबुलमै छोडेछु शायद ! आत्तिएर ट्याक्सी घुमाउन भनें । ट्याक्सी तुफानझैं कुद्यो । दौडिएर क्याफेभित्र छिर्नेबित्तिकै म एकाएक ओइलाएँ । स्मिता टेबुलमा घोप्टो परेर सुँक्सुकाइरहेकी थिई । उसको दाहिने हातमा मेरो मोबाइल थियो । मेसेज बक्समा प्रमोद नामको थ्रेड खुला थियो । हातबाट झ्वाट्ट मोबाइल थुतें । स्मिता झस्किएर जुरुक्क उठी र मलाई देखी । त्यसपछि उसका आँखामा आँसुको मूल फुट्यो । मोबाइल हेरें । प्रमोद भनेर नाम सेभ गरिए पनि त्यो प्रमिलाको मेसेज थियो । लेखेकी थिई, “जानु, कता छौ ? मिसिङ यु ब्याड्ली, छिटो आऊ न । लभ यु टु टु मच !” मेसेजको अन्तिममा चुम्बनको स्माइली :* पनि ठेलेकी थिई । स्मितालाई भेट्न जाँदा म उसकै मोबाइल नम्बरका अन्तिम चार अंक सेक्युरिटी कोड राख्थें, प्रमिलालाई भेट्न जाँदा उसको । दुवैको अगाडि त्यही कोड थिचेर देखाउँदै मोबाइल खोल्थें । त्यसो गर्दा उनीहरु बुझ्थे– मेरो मनमा उनीहरुप्रति कति धेरै समर्पण छ । स्मिता र प्रमिलाबीच धेरै असमनता थिए । समानता एउटामात्रै थियो– उनीहरुले माया गर्ने मान्छे–– म ! स्मितालाई म विवाहित भन्ने थाहा थिएन । ऊसँगको पहिलो दिनकै च्याटबाट यो झुटको सुरुवात भएको थियो । घात त्यहाँ हुन्छ, जहाँ विश्वास हुन्छ । स्मिताले मलाई विश्वासले शरीर सुम्पिएकी थिई, मैले उसमा घातको नमेटिने छाप हानेको थिएँ । उसको अनुहार हेर्न सकिनँ । ऊ थचक्क कुर्सीमा बसेर फेरि घोप्टो परेर रोई । म जडझैं उभिएँ ठिंग । न दौडिएर भाग्न सक्थें, न स्मिताको काँध थप्थपाएर नरोऊ भन्न सक्थें । यतिबेला मलाई जीवनकै सबैभन्दा गहन तत्वबोध भयो– ‘माया’ भनेको त ‘मानसिक यातना’ पो रहेछ ! पैसा कमाउन सजिलो छ, मान्छे र इष्टमित्र कमाउन सजिलो छ । विश्वास कमाउन सजिलो छ । तर, भरोसा कमाउन सजिलो छैन । सजिलो छ त गुमाउन । अविश्वासको सानो छिटाले भरोसाको पर्खाल निमेषमै भत्काइदिन्छ । म त्यही भत्किएको पर्खालझैं लत्रिएकी स्मितालाई हेरिरहें । धेरै बेरपछि स्मिता जुरुक्क उठी र सीधा मेरो आँखामा हेरी । मेरा आँखा उसका आँखा, नाक, घाँटी हुँदै पैतलासम्म गएर अडिए । “को हो प्रमोद भन्ने ?” हिँक्कहिँक्क गर्दै उसले सोधी, “भन सुमन, मलाई त्यत्ति अबुझ नसम्झ !” म केही बोलिनँ । मसँग बोल्न बाँकी शब्द केही थिएनन् । “सरी इस्मु,” मैले उसलाई अँगालोमा तानेर अठ्याएँ । उसले मलाई अँगालोबाट हुत्ताइदिई । म नबोली फरक्क फर्किएर ट्याक्सी चढें । ट्याक्सी फेरि बेपत्ता तुफानझैं हुइँकियो । मेरो मनमा पनि त्यस्तै तुफानको हुन्डरी चल्यो । छटपटी बढेपछि मन घुमाउन मोबाइल हेरें । आँखा सोझै कल डिटेलमा गएर अडिए । त्यसपछि मेरो आँखाअघि एकाएक कालो पर्दा झर्‍यो । भनभनी रिंगटा लाग्लाझैं भयो । फोन भन्थ्यो– १० मिनेटअघि मात्रै प्रमिलालाई फोन डायल भएको छ । मैले गरेको थिइनँ– यसको अर्थ स्मिताले गरेकी थिई । हत्त न पत्त कल गरें । दोस्रो घण्टी नजाँदै प्रमिलाई पड्किई, “सुमन, त्यो स्मिता भन्ने को हो ?” मेरो घाँटीमा एक्कासि सनासोले च्यापेझैं भयो । ‘हेलो....हेलो....हेलो....केही सुनिएन...’ भनेर झ्याप्प फोन काटिदिएँ । उत्तिखेरै ‘प्रमोद कलिङ’ आयो, उठाएँ र सुनेंमात्रै । उताबाट फेरि प्रमिला पड्किई, “भन सुमन, अब ढाँटेर केही फाइदा छैन ।” “ह्या, कोही होइन हौ,” लामो सास फेरेर बिस्तारै बोलें, “एकजना बहिनी हो के अफिसको !” प्रमिलाले पत्याइन । झनै जोडले चिच्याई, “नाटक नगर । कोही बहिनीले म गर्लफ्रेन्ड हुँ भन्दैनन् । त्यो स्मिता भन्नेले हाकाहाकी म सुमनकी गर्लफ्रेन्ड हुँ भनी । त्यस्तो मेसेज पठाउनी तँ को भनेर उल्टै मलाई हकारी । तिम्लाई थाहा छ म कति इम्ब्यारेस्ड भएँ ?” फेरि घाँटीमा उसिनेको सिंगो आलु अड्किएझैं भयो । मुख सुकेर प्याकप्याक भयो । “ए दाइ पानी खाम् न,” ट्याक्सी ड्राइभरलाई पछाडिबाट कोट्याएँ । उसले पानीको बोतल दियो । उता फोनमा धेरै बेरसम्म सुँक्कसुँक्क गरेको मात्रै सुनियो । ट्याक्सी नक्साल काटेर कमलादी छिरिसकेको थियो । वैशाखको घामले मलाई बाहिरमात्रै होइन, भित्र नसा–नसासम्म पोलिरहेको थियो । भनें, “सरी !” त्यसपछि टुँटुँटुँ आवाज आयो । ० ० ० प्रभातको घरमा पुलिस आएर सोधपुछ गर्दै थिए । म बरन्डामा भक्कानिएर चिच्याइरहेकी अञ्जनाछेउ टुसुक्क बसेर आँसु झार्दै थिएँ । मान्छेको आउँथे र अञ्जनालाई ढाडस दिँदै आफैं पिलपिल गर्थे । उनी एकछिन चुपचाप लाग्थिन् र फेरि घोप्टो परेर सुँक्सुकाउँथिन् । त्यहाँ आउनेमध्ये धेरैजसो भन्थे, “यस्तो राम्रो खाइलाग्दो जोडीमा कसको आँखा लागेछ ।” साधना पनि दौडिदै आइपुगी । घोप्टो परेर रोइरहेकी अञ्जनालाई ग्वाम्म अँगालो हालेर आफू पनि भक्कानिई । म सबै तमासा हेर्दै थिएँ । उठेर अलि पर गुचुप्प उभिएका मान्छेछेउ गएँ । उनीहरु गुनगुन गर्दै थिए, “पेट बोकेकी रहिछ, अहिले कहाँ छे कसैलाई थाहा छैन !” पुलिसले मुचुल्का उठाउँदै थियो । भित्र बैठक कोठामा मुखबाट फिँज निकालेर प्रभात लम्पसार परेको थियो । उसको गोजीमा भेटिएको कागज निकालेर इन्सपेक्टरले सरर पढ्यो र सरासर अञ्जनासामु गयो । उनी उठेर कागज हेर्न सक्ने अवस्था थिइनन् । “सर, हेर्न मिल्छ ?” इन्सपेक्टरसामु गएर बिस्तारै सोधें, “म उसको नजिकको साथी हुँ, सुमन ।” इन्सपेक्टरले मलाई भित्र कोठामा लगेर चिठी थमाए । पढेर मेरा आँखा रसाए । लेखिएको थियो– प्रिय अञ्जना ! मलाई थाहा छ, तिमी यो चिठी पढ्न सक्दिनौ । यो पनि थाहा छ– तिमी हरेक क्षण यो चिठी सिरानीमुनि राखेर रोइरहनेछौ । यो चिठीले झार्ने तिम्रो आँसु मैले देख्ने छैन । मेरो सामु उभिँदा खस्ने तिम्रा आँसु म पुछ्न सक्दिनथें । मलाई माफ गर । मैले जीवनमा ठूलो केही चाहिनँ । सम्पत्तिको पछि म लागिनँ । तिमीजस्ती जीवनसाथी हुनु नै मेरो सम्पत्ति थियो । तर, मैले त्यो सम्पत्ति जोगाउन सकिनँ । म बहकिएँ । मान्छु– म असन्तुष्ट प्राणी हुँ, मेरो मन सन्तोषी छैन । त्यसको मूल्य म आफैं चुकाउँदैछु । तिम्रो आफ्नो सम्पूर्ण जिन्दगी छ, जसलाई तिमीले सुन्दर सपनाझैं सजाएर राखेकी छौ । मलाई लाग्छ– म तिम्रो सपनामा सधैं नचाहिने पात्र बनेर आइरहनेछु । मायासँगै सम्मान मागेर कहिल्यै पाइन्न, म पनि त्यो धृष्टता गर्न सक्दिनथें । मैले हरदम तिम्रो सामीप्यता चाहँदाचाहँदै पनि बहकिएँ, सरी !” मिनट, घण्टा, दिन हुँदै हप्ता बित्यो । अञ्जना हरेक दिनजसो साधनलाई भेट्न आइरहिन् । उनी नआउँदा साधना पनि भेट्न गइरही । हरेक भेटमा अञ्जना भक्कानिएर भन्थिन्, “मबाट के अपुग भयो र यस्तो भयो साधना ? एकपटक मसँगै सेयर गरेको भए बरु चुपचाप सहिदिन्थें र बिर्सिदिन्थें । कमसेकम लोग्ने आफ्नै साथमा त हुन्थ्यो ।” उनको कुरा सुनेर साधना पनि पिलपिल गर्थी । म चुपचाप सुनिरहन्थें । एकदिन अञ्जनाले मसँग सोधिन्, “तपाईं त्यस्तो मिल्ने साथी, केही थाहा थिएन बाबु ?” उनको प्रश्नले मलाई भित्रैसम्म हल्लायो । “थिएन भाउजू,” झुठो बोलें, “थाहा भएको भए यस्तो दुःखै हुन्नथ्यो ।” उनले तररर आँसु झारिन् । “तपाईंजस्तो मान्छेका साथी किन त्यस्ता भए ?” हिक्हिकाउँदै भनिन्, “यही सोचेर मेरो मन पोल्छ ।” प्रभातको अनुहार सम्झिएर आँखा चिम्म गरें । शायद नांगो आँखाले म अञ्जनालाई हेरिरहन सक्दिनथें । उनलाई ठाडो नजरले हेर्नसक्ने ल्याकत मेरा आँखामा थिएन । दुष्कर्मको रापले मलाई जलाएर खरानी बनाइसकेको थियो । गोजीको मोबाइल घ्यारर्र गर्‍यो । बाथरुम जान्छु भनेर निस्किएँ । हेरें– मेसेजको नोटिफिकेसन रहेछ । “हाई सुमन, कता गायब ? भेट्ने होइन ?” नचिनेको नम्बरबाट मेसेज रहेछ, “तिम्रो कल आउँछ भनेर कत्ति कुरें– मैले नै बोलाउनुपर्ने ? :( ।” अनि मैले रिप्लाई लेखें, “हु इज दिस ?” उत्तिखेरै रिप्लाई आयो, “जुनु ।” मैले पनि हतार नगरी उत्तर फर्काएँ, “ओहो, के छ ? कता हराको अचेल ? च्याटमा पनि आउँदिनौ !” “हराको होइन नि, सम्झिए पो हुन्छ ! भेट्ने भन्दाभन्दै तिमीले खबरै गरेनौ :/ !” उसले लाडे पल्टिएझैं लेखी । “उप्स :P,” मैले ढिलो नगरी प्रस्ताव गरें, “शनिबार २ बजे हुन्छ ?” “ओके डन :)” उसले पनि निमेषमै लेखी, “धुलिखेल ?” मैले ‘ग्रेट, सी यु’ सँगै पानको पात पठाएँ । मनमा पुलुक्क खुसीका गुबारा फुले । ऐना हेरें– अनुहारमा अचम्मको लाली छाएको थियो । बाथरुमबाट निस्किँदा देखें– साधना हातमा मोबाइल चलाएर बसेकी थिई । अञ्जना थिइनन् । मलाई देख्नेबित्तिकै भनी, “अनि कुन होटलमा जाने नि ?” झस्किएर साधनाका आँखा हेरें । अनुहारभरि अनिश्चयका घेरा कोरिएका थिए । मलाई एक्कासि नांगो बिजुलीको तारले बेरेझैं भयो । “हँ ? के भनेको ?” ऊ केही बोलिन । मोबाइलको किप्याडमा के–के थिचिरही । मलाई वैशाखको घामले यसरी कहिल्यै चर्चरी पोलेको थिएन । मेरो मोबाइल फेरि घ्यारर्र गर्‍यो । “कुन होटल जाने भनेको :) ?” मेसेज त्यही जुनुकै नम्बरबाट आएको थियो । सरासर गएर साधनको हातबाट मोबाइल थुतेर हेरें । त्यहाँ मैले अघि जुनुलाई पठाएका र जुनुले मलाई पठाएका सबै मेसेज हुबहु थिए । - See more at: http://nagariknews.com/nagarik-sanibar/story/44778.html#sthash.NpOe2l4z.dpuf

Comments

Popular posts from this blog

बूढीगण्डकी र नलसिंहगाडको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बूढीगण्डकी जलविद्युत् आयोजनालाई अव उप्रान्त विद्युत् उत्पादन कम्पनीको स्वामित्वमा सञ्चालन गर्ने भएको छ। साविकमा समितिमार्फत सञ्चालनमा रहेको बूढीगण्डकी आयोजनालाई ऊर्जा मन्त्रालयले केही समय पहिले समिति खारेज गरी आफैँले स्वामित्व लिएको थियो। ऊर्जा मन्त्रालय आफैले सो आयोजनाको हकमा लिएको स्वामित्व विद्युत् उत्पादन कम्पनीलाई हस्तान्तरण गर्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायकाअनुसार विकास समिति ऐन, २०१३ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी गठन गरिएको समिति गठन आदेश, २०५९ अनुसार विघटन गरिएको थियो। ऊर्जा मन्त्रालयले बूढीगण्डकीसँगै नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत विद्युत् उत्पादन कम्पनी लिमिटेड आफै वा सहायक कम्पनीको मार्फत सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले विघटित समितिसँग लिएका सबै काम विद्युत् उत्पादन कम्पनी मार्फत सञ्चालन गर्ने तथा सरकारमा आएको आयोजनाको सम्पूर्ण हक, जायजात र दायित्वको जिम्मेवारी समेत प्रदान गरिएको जनाएको छ। ऊर्जा मन्त्रालयले केही दिन पहिले एक सूचनामार्फत बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनाको ह...

विद्रोह र शान्ति यात्राका दुई दशक

प्रकाश तिमल्सिना विद्रोह र शान्ति यात्राका दुई दशक काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो केन्द्रीय समितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा सुरुमै भनेका छन्, 'संविधान घोषणा सँगसँगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बीचबाट पार्टीले अघि सारेको प्रमुख कार्यनीतिक अध्याय अन्त्य भएको छ।' उनले यो पनि जोड गरेका छन्, 'कार्यनीतिको यो समापनसँगै पार्टीका अगाडि नयाँ राजनीतिक कार्यनीति विकासको ढोका खुलेको छ।' गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी आफ्नै पार्टीको जोडबलमा नयाँ संविधानमा संस्थागत हुन सकेको उल्लेख गर्दै स्थायी समिति सदस्य राम कार्की एमाओवादीलाई 'एजेन्डा विजयी पार्टी' का रूपमा लिनुपर्ने बताउँछन्। 'माओवादीबाहेक अन्य दलको 'पोलिटिकल पोजिसन' ०४७ सालको संविधानको सेरोफेरो नै हो, अहिले संविधानमा जे–जति नयाँ कुरा समावेश भएका छन्, त्यो माओवादी जनयुद्धको योगदान हो, माओवादी संघर्षको परिणाम हो,' उनको भनाइ छ। माओवादीको आन्दोलन–संघर्षले तीनवटा महŒवपूर्ण राजनीतिक मोड (युद्ध, शान्तिप्रक्रिया र संविधानसभाबाट संविधान निर्माण...

यसरी चल्छ चीनमा उच्च गतिको रेल

रेल सञ्जाल विस्तारमा पछिल्ला दिनाम चीनले चमत्कार नै गरेको छ । रेल यातायाताको विकासमा चीनले गरेको उच्चतम प्रयास अरुहरुका लागि समेत प्रेरणाको स्रोत बन्न सक्छ ।